कति हजारको मान्छे तिमी ?

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलवार

कोही कसैले भन्ने गर्छन् –
तिम्रो मोल अनमोल छ
तर, मैले थाहा पाएअनुसार–
मेरो मोल बिहान–बेलुका एक डबका झोल छ ।

कतै जान्छु गुण्डागर्दी र बिचौलिया बन्छु–
यही त साथी तिमी र ममा फरक यही छ ।

सरकारी भेष छ, स्वदेशी देश छ–
कमाउ धन्दाको ठूले बेग छ ।
र त, साथी तिमी र म मा यही फरक छ ।

काम गर्छु, परिश्रम गर्छु–
जाँगर चलाई नयाँ टिरिक रच्छु
बिल्ला छ काँधमा, सिपाही छन्–
नेतागोताको ठूलै लहरो छ हातमा ।

सक्छौँ के गर्छाैँ र तिमीहरुले हेरौँ
म आयल निगमको खड्का र राजश्व विभागको शर्मा कहाँ हुँ र…’
म पूर्व आइजिपि साहेबहरु झैँ कहाँ हुँ र जेलभित्र सलोट ठोकिने कस्टडीमा…

नुन काण्डमा मुछिएकाहरुलाई छुट हुने–
सुनकाण्डको चाहिँ लामै लहरो हुने
बडो गजबको कुरा गछौँ भाइ तिमी–
एउटालाई हाई हुने अर्को चाहिँ समातिने ?
कस्तो चलन हो तिम्रातिर–
भन नढाँचीकन भन–
कति हजारको मान्छे तिमी ?

तिमीले टाइ र सुट लगाएर झूट बोलिरहेछौँ
मेले भट्टीमा डबका लगाएरै भट्टभट्टाइरहेछु
तिमी प्राडो र पजेराका कुरा गरिरहन्छौँ
मैले एक प्याज रक्सी र भट्टीको कुरा गर्दा
तिमी किन बेस्सरी झर्कियौ हँ ?

अब छोड्देऊ कुरा गर्न नुनको नि ?
अब छोड्देऊ कुरा गर्न सुनको नि ?
सबै नुन र सुन आयतीत वस्तु नै हुन्
हाम्रै गतिला हरामहरुकै अब गुनका कुराहरु–
सक्छौ भने लेख्ने कोसिस गर ।

सक्छौ भने मुलबाटो नै बन्द गर
दोबाटोमा बसेर सुन र नुनको बहसमा–
किमार्थ पैदल यात्रीहरुलाई दुःख दिने
तिम्लाई अधिकार छैन अब ?

बिर्सिदेऊ जुनीजुनीसम्मको लागि अब
सक्छौँ भने अब नेपाल र नेपाली माटोमाथि बार्गेनिङ्
गर्नेहरुको डँढाल्नु गाल्ने र बाल्ने कीमार्थ साहस गर
अभिनय चाहिँ धेरै पटक भईसकेको छ–
भन नढाँचीकन भन–
कति हजारको मान्छे तिमी ?


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट