सप्तरीको दुई ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा कम्बल वितरण

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार

राजविराज, २७ पुस । बुधबार धुर्मुस–सुन्तली फाउन्डेसनले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा स्थानीय प्रशासनसित समन्वय गरी कम्बल वितरण गरेको छ ।

विगत केही दिनदेखि सप्तरीसहित पूर्वी तराईमा बढेको अत्याधिक चिसो र शीतलहरले प्रभावित बनेका ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेसनले कम्बल वितरण गरेको हो । सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म ८ जनाकोमात्र मृत्यु भएको पुष्टि गरेको छ । बढ्दै गएको चिसो र शीतलहरका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अति असहाय २० परिवार गरी कुल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्यांकेट वितरण गरेको हो । फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चिसोबाट प्रभावित बनेका उनीहरुलाई कम्बल वितरणबाट केही भए पनि राहत मिल्ने बताएका छन् ।

यस्तै, शीतलहरबाट प्रभावित सप्तरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्यांकेट वितरण गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट