भाडामा सवारी साधन लिई ठगी हिड्ने दुईजना पक्राउ

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने काठमाडौं तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा उनीहरुलाई भक्तपुर कटुञ्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौं पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन एक लाख पाँच हजार रुपैयाँ रकम दिने भनी तीन वटा कार सम्झौता गरेर भाडामा लिएका थिए । करार बमोजिम सवारी साधनको मासिक भाडा नदिई दुई वटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसबाट आफ्नो ३७ लाख ३५ हजार रुपैयाँ ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

अनुसन्धानका क्रममा उनीहरुले टोखा बस्ने एक महिलासँग ३५ लाख रुपैयाँ लिई रकम नभएको बैंक खाताको चेक दिएको, सिन्धुपाल्चोक चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा मासिक भाडा एक लाख रुपैयाँ दिने सहमतिमा लिई स्कर्पियो गाडी ल्याई काठमाडौं हाँडीगाउँका दीपक बस्नेतलाई जेठ महिनामा २९ लाख रुपैयाँमा बिक्री गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

यसैगरी धादिङका एक व्यक्तिबाट २०७४ साल असारमा एउटा कार मासिक ७५ हजार रुपैयाँमा भाडा दिने गरी लगी सवारी साधनसहित सम्पर्कविहिन भएको, धनकुटाका एक व्यक्तिबाट समेत २०७४ साल कात्तिकमा स्कर्पियो कार मासिक एक लाख रुपैयाँ भाडा दिने गरी लिई सम्पर्कविहिन भएको उजुरीसमेत प्रहरीमा परेकोे छ । उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको भन्ने बुझिएकाले पीडितलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट