छोरी जन्मिँदा आमालाई भत्ता दिने पहिलो गाउँपालिका दोगडाकेदार

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

बैतडी, २६ पुस । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्माउने आमालाई बैतडीको दोगडाकेदार गाउँपालिकाले एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष चक्र कार्कीका अनुसार यसरी छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप चारसय रुपैयाँ दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन सुरु गरेको हो । दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले उक्त भत्ताबाट छोराछोरीबीचको विभेद अन्त्य हुनेमा सहयोग पुग्ने जनाएकी छिन् ।

छोरा जन्मिँदा मात्रै खुशी हुने हाम्रो समाजका लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अहेब प्रेमबहादुर चन्द बताउछन् । स्वास्थ्य क्षेत्रको विकासका लागि दोगडाकेदार गाउँपालिकाले गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै चन्दले गाउँपालिकाले गरेको सोे कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यलाई पनि खतरा नहुने बताए । गर्भावस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौबाट प्रोत्साहन दिने निर्णय गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की बताउछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट