बोदेवरसाइन नगरपालिकाको बजेट ५५ करोडबढी

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

सप्तरी, २६ पुस । आव २०७५/०७६ का लागि सप्तरीको बोदेवरसाइन नगरपालिकाको बजेट करिब ५५ करोड रुपैयाँभन्दा बढी रकमको प्रस्तुत गरिएको छ । मंगलबार सम्पन्न नगरसभाबाट उक्त नगरपालिकाको लागि ५५ करोड ७८ लाख एक हजार सातसय रुपैयाँको अनुमानित खर्च सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गर्दै नेपाल सरकारबाट राष्ट्रिय बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध स्रोत अनुमान विवरणका आधारमा आन्तरिक आय तथा प्रशासनिक चालु पूँजीगततर्फ १५ करोड ९३ लाख ५५ हजार, बाह्य पूँजीगत तर्फबाट १३ करोड ४९ लाख ५२ हजार नौसय एक रुपैयाँ, अनुदान पूँजीगत निशर्त नेपाल सरकारको तर्फबाट १२ करोड ५८ लाख आठ हजार तीनसय ३० र प्रशासनिकतर्फ १० करोड ६८ लाख सात हजार चारसय ३६ रुपैयाँ राखिएको छ । नगरसभाले मधेश आन्दोलन, जनआन्दोलन र जनयुद्धका शहीद परिवार र ज्येष्ठ नागरिक दलितको हकमा (पूर्ण अपांग)लाई सो नगरपालिकाले गरिने सिफारिशमा निःशुल्क सिफारिश गरिने घोषणा पनि गरेको छ ।

यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकाको हालै सम्पन्न नगरसभाबाट आव २०७५/०७६ मा खर्च हुने बजेट ३४ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न प्रथम नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो ।

बजेट शीर्षकअन्तर्गत वित्तीय समानिकरणतर्फ २२ करोड ४४ लाख ३४ हजार, सशर्त अनुदान १० करोड ३८ लाख ५० हजार, अल्यातर्फ ७६ लाख, राजस्व बाँडफाँडमा ५० लाख, स्रोततर्फ ५० लाख, खडक बोर्डतर्फ ३५ लाख, युनिसेफमा चार लाख ९८ हजार ६० रुपैयाँ गरी कूल आयव्यय प्रस्तुत गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङले जनाए । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा भत्ता भने समावेश गरिएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट