स्थानीय तहका जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

खोटाङ, २५ पुस । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउनका लागि पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका छन् । जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङका अनुसार सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको हो ।

पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न)समेत अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको प्रमुख चाम्लिङले जनाए । नेपालको राष्ट्रिय झण्डासहितको खोटाङको नक्सा बनाएर उक्त नक्सालाई दुई हातले माथि उचालेको लोगो (चिह्न) बनाउने तयारी गरिएको पनि जनाइएको छ । समन्वय समितिले तोकेको पोशाक र लोगो अनिवार्य गर्न नगरपालिका तथा गाउँपालिकाका वडासम्म परिपत्र गरिएको जनाइएको छ ।

यस्तै, तत्कालीन जिल्ला विकास समितिका सभापतिको तस्वीर संकलन गरेर समन्वय समितिको कार्यालयमा राख्नेसमेत निर्णय गरिएको प्रमुख चाम्लिङले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट