वाणिज्य संघद्वारा पत्रकार महासंघ बागलुङलाई दुई लाखबढी सहयोग

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

बागलुङ, २५ पुस । उद्योग वाणिज्य संघ बागलुङले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । संघद्वारा हालै आयोजित बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरिएको संघका अध्यक्ष जयराम भारीले बताए ।

पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सरकारी, निजी क्षेत्रलगायत सबैतिरबाट प्राप्त सहयोगले आफूहरु उत्साहित भएको बताएका छन् । स्थापना भएको १९ वर्षपछि पत्रकार महासंघ बागलुङको आफ्नै भवन बन्दैछ । एक करोड रुपैयाँको लागतमा बन्ने भवनको ५० प्रतिशत काम पूरा भएको छ । चालु आवभित्रै तीन तले भवनको सबै काम पूरा गर्ने योजना रहेको शाखा अध्यक्ष शिरीषले बताए ।

बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाकक्षलगायत संरचना बन्नेछन् । भवन निर्माणका लागि शाखाले गत वैशाखदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामको आर्थिक अभियान चलाएको छ । उक्त अभियानबाट ३० लाख रुपैयाँ संकलन भएको छ । महासंघका पदाधिकारी, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पार्षद्, प्रादेशिक पार्षद् र साधारण सदस्यबाट मात्र सात लाख रुपैयाँ संकलन भएको छ । जिल्लाका १० वटै स्थानीय तहबाट पनि भवन निर्माणमा ३० लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट