माटो अशुद्ध बनाउने विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरणको माग

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

काठमाडौं, २५ पुस । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । सोमबार आयोजित ‘प्रकृति र स्वास्थ्य बचाऔँ’ नामक अभियानमा विषादीयुक्त रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको छ ।

अभियानमा वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले प्रकृति र जडीबुटीले सम्पन्न मुलुकमा प्रांगारिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै हाम्रा विविध उत्पादनसँग जोडिएका मौलिक परम्परा र वस्तु उत्पादनलाई आवश्यक पर्ने ज्ञान, सीपको विकास गर्नुपर्ने विचार व्यक्त गरे । प्रश्रितले देशमा एकसय २५ जाति तथा एकसय २३ भाषा रहेको उल्लेख गर्दै विविधताले भरिएको देशमा रहेका संस्कृतिलाई समेत व्यावसायिक रुपमा प्रवद्र्धन गरी नेपालले सम्पन्नता कायम गर्न सक्ने बताए ।

इतिहासविद् सुरेन्द्र केसीले प्रांगारिक उत्पादन नै नेपालको मौलिकता भएको भन्दै रासायनिक मल, औषधि हानिकारक भएको हुँदा यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष रोमलाल गिरीले सरकारले प्रांगारिक उत्पादनका लागि लगानी वृद्धि गर्नुपर्ने सुझाव दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट