केसीलाई पक्राउ गरिन्छ भने हामी सबैलाई पक्रेर देखाउनुस् : गगन थापा

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

काठमाडौं, २५ पुस । जनताको पक्षमा बोल्दा डा. गोविन्द केसीलाई मानहानीको मुद्धा लाग्ने भए आफूहरु सबैलाई पक्राउ गर्न कांग्रेसका युवा नेता गगन थापाले प्रधानन्यायाधीशलाई चुनौती दिएका छन् ।

सोमबार साँझ प्रहरीले केसीलाई सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ गरेपछि केसीको समर्थनमा मंगलबार बिहान माइतीघर मण्डलामा केसीको समर्थकहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा बोल्दै नेता थापाले केसीको अभिव्यक्ति सर्वोच्च अदालतको मानमर्दन गर्न नभई मान जोगाउनका लागि भएको दावी गरेका छन् । सम्मानित अदालतप्रति आफूहरुको सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको नेता गगनको भनाई थियो ।

उनले आम नेपालीको स्वास्थ्य सरोकारको विषयमा बोल्ने केसीलाई पक्राउ गरिन्छ भने यहाँ भेला भएका हामी सबैलाई पक्रेर देखाउनुस् भन्दै प्रधानन्यायाधीशलाई चुनौती दिएका हुन् । केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले उनले उठाएका मागबारे गम्भीर छानबिन गर्नुको सट्टा जनताको पक्षमा आएको बोलीलाई थुन्ने प्रयास गर्नु अनुचित भएको बताएका छन् ।

केसीको पक्राउको विरोधमा देशभर विरोध प्रदर्शन सुरु भएको छ । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका केसीलाई बयानमा लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै केसी सोमबार दिउँसो ४ बजेदेखि अनसनमा बसेका थिए । उनलाई अनसनस्थलबाटै अनामनगर प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

योपनि पढ्नुहोस् :
सोमबार राती पक्राउ परेका केसी अदालतमा, केसीका समर्थकहरुले गरे प्रदर्शन


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट