सोमबार राती पक्राउ परेका केसी अदालतमा, केसीका समर्थकहरुले गरे प्रदर्शन

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

काठमाडौं, २५ पुस । सोमबार अपराह्नदेखि १४औँ अनशन बसेका डा. गोविन्द केसीलाई प्रहरीले सोमबार राती सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ गरेपछि आज बिहान ९ बजे अगावै अदालत उपस्थित गराएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिँदै अनसन सुरु गरेका केसीलाई सर्वोच्चले सोमबार नै पक्राउ पुर्जी जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार केसीलाई प्रहरीले सोमबार राती पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।

काठमाडौंको माइतीघर मण्डलामा केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै आज बिहानै केसीका समर्थकहरुले प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र लगायतका समर्थकहरुले केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन डा. शशि शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध केसीले अनसन सुरु गरेका थिए । अदालतको अवहेलना गरेको ठहर भए केसीले एक वर्षसम्म जेल बस्नुपर्ने हुन्छ । यता केसीले आफूलाई जेलमा राखिए त्यहीँ अनसन बस्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस् :
गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चले दियो आदेश


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट