प्रधानन्यायाधीशको बर्खास्ती माग्दै डा.केसी आजदेखि अनशनमा

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काडमाडौं, २४ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तीको माग राख्दै डा.गोविन्द केसी आज दिउँसो ४ बजेदेखि अनसन बस्ने भएका छन् । सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा.शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध डा.केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै पाँचबुँदे मागसहित अनसनको घोषणा गरेका हुन् ।

उक्त निर्णयपछि १३ पटकसम्म आमरण अनसन बसिसकेका डा.केसी १४औँ पटक अनसन बसेका हुन् । न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेका कामको छानबिन गर्नुपर्ने माग गरेका छन् । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले डा.शशि शर्मालाई डीनबाट बर्खास्त गरेका थिए । त्यस विरुद्ध डा.शर्मा अदालत गएका थिए र आइतबार प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा.शशि शर्मालाई पुनस्र्थापना गर्ने निर्णय गरेको थियो । यो आदेशपछि शर्मा जम्मा ४ दिनका लागि डीन बनेका छन् । शर्माको पदावधि पुस २८ मा सकिँदै छ ।

डा.केसीले भने ‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेको छु ।’ उनले ‘अहिले हाम्रो न्यायालय न्याय दिने हैन न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ । कानुन र विधिको शासन हावी हुनुपर्नेमा कानुनलाई निकृष्ट व्यक्तिगत स्वार्थ पूर्ति गर्ने माध्यम तथा आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाइएको यो अवस्थामा हामीसित समस्याको जरोसितै लड्नुको विकल्प छैन । त्यसैले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन,’ भनेका छन् ।

डा.केसीका मागहरुः

१) पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरु माथि छानबिन र कारबाही गरियोस् ।

२) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।

३) आइओएमका डीनमा विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस् । माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।

४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।

५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् :

सरकारी संस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्ने । हाल १० प्रतिशत मात्र शय्याहरु निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइनुपर्ने । आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाउने तथा अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपचारको व्यवस्था गर्ने ।

कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था गर्ने, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गर्ने । पुस्तकालय वर्षभर २४सैं घन्टा र सातै दिन खुला राख्ने व्यवस्था गर्ने ।

अस्पतालको औषधि पसल बिस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गर्ने ।

इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचारका लागि सेवा बिस्तार तथा वृद्धि गर्ने, बिरामी दलालहरु तथा तिनलाई प्रयोग गर्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने । आइसियू, एनआइसियू, अपरेसन थिएटरलगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवादिने र अपरेशनको ‘क्यू’ घटाउने । साथै संविधानमा लेखिएबमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गर्ने ।

चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यताअनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था गर्ने । नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारीहरुको नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई नियमविपरीत पदस्थापना, स्थायी र बढुवा नगर्ने तथा गरेकालाई खारेज गर्ने ।

थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गर्ने ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट