बीबीसी सम्पादक ग्रेसीले तलबमा विभेद भएको भन्दै दिइन् राजीनामा

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं । बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै बीबीसी चिनियाँ सेवाकी सम्पादक कैरी ग्रेसीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाउँदै ग्रेसीले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर राजीनामा दिएकी हुन् । ३० वर्षदेखि बीबीसीमा काम गर्दै आएकी ग्रेसीले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् । ग्रेसीले आफ्नो खुल्लापत्रमा तलब वृद्धि नभई बराबरी चाहिएको स्पष्ट पारेकी छन् ।

यता बीबीसीले भने संस्थानमा महिला कर्मचारीहरुमाथि कुनै भेदभाव नभएको दावी गरेको छ । बीबीसी चीन सेवाको सम्पादकबाट राजीनामा दिए पनि उनी संस्थानमा रहिरहने बताउँछिन् । टीभी न्यूज रुममा आफ्नो पूर्व भूमिकामा फर्किने तयारीमा रहेकी उनले पुरुष सरह तलब पाउने आशा राखेकी छन् । गत जुलाइमा बीबीसीले वार्षिक डेढ लाख पाउण्डभन्दा बढी तलब खाने कर्मचारीहरुको तलब सार्वजनिक गर्दा बीबीसीमा दुई पुरुषले अन्तर्राष्ट्रिय सम्पादक महिलाले भन्दा कम्तिमा ५० प्रतिशत बढी तलब पाउने थाहा पाउँदा आफू निकै हतास भएको ग्रेसीको गुनासो छ ।

बीबीसी अमेरिकाका सम्पादक जोन सेपेलले दुईदेखि साढे दुई लाख पाउण्डबीचमा तलब लिन्थे भने मध्यपूर्वका सम्पादक जेरेमीको तलब डेढदेखि २ लाख पाउण्ड बीचमा थियो । यो सूचीमा ग्रेसीको नाम थिएन, यसको अर्थ उनको तलब वार्षिक डेढ लाख पाउण्ड छैन । बीबीसीका पत्रकारहरुसँगै हजारौ मानिसहरुले ट्वीटरमार्फत ग्रेसीलाई समर्थन गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट