मिन र आईषालाई रिकर्भमा स्वर्ण

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

राजेश थापा मगर
काठमाडौं, २४ पुस । राखेप च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ व्यक्तिगत ७० मिटरमा पुरुषतर्फ मिन गौचन र महिलातर्फ आईषा तामाङ्गले स्वर्ण जितेका छन् । थासाङ्ग स्पोर्टस् क्लबका गौचनले आईतबार भएको फाईनल खेलमा स्वयम्भु आर्चरी क्लबका प्रेमप्रसाद पुनलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक जिते ।

त्यस्तै कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक जिते । महिला तर्फको स्पर्धामा आर्मीकी आईषाले आफ्नै क्लबकी ज्ञानु अवालेलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन् । सो स्पर्धामा कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षेत्रीले कास्य जितिन् । दशरथ रङ्गशालामा भएको च्याम्पियनसिपको कम्पाउण्ड ५० मिटर व्यक्तिगत पुरुषतर्फको प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले १ सय ४० अंक जोड्दै स्वर्ण तथा १ सय १९ अंक जोड्दै बेष्ट आर्चरी क्लबका प्रजित अग्रवालले रजत पदक जिते ।

यस्तै पुरुष स्ट्याण्डर्ड व्यक्तिगत ३० मिटर तर्फको प्रतिस्पर्धामा स्वयम्भु आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे । उनले बेष्ट अफ फाईभको गेममा ६ अंक बटुलेका थिए । दोश्रो स्थानमा रहेका बेष्ट आर्चरीका नबिनवीर बस्न्यातले ४ अंक जोड्दै रजत पदक जिते भने आर्मीका डम्बर थापाले कास्य पदक जिते । सोही विधाको महिलातर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आले मगरले आर्मीकी मित्रा राईलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारिन् ।

तेश्रो स्थानमा अन्नपूर्ण आर्चरी क्लबकी रोजीना थापा मगर रहिन् । पुरुष स्ट्याण्डर्ड ३० मिटर टिमतर्फको प्रतिस्पर्धामा आर्मीले स्वर्ण, बेष्ट आर्चरी क्लबले रजत तथा अन्नपूर्ण आर्चरी क्लबले कास्य पदक प्राप्त गर्यो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए । दुई दिने च्याम्पियनसिपमा ७८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट