२८५४औँ राष्ट्रिय सोनाम ल्होछार माघ ४ गते

प्रकाशित मिति: २३ पुष २०७४, आईतवार

काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङले आगामी माघ ४ गते खि नगि ल्हो (कुकुर वर्ष) २८५४औँ राष्ट्रिय सोनाम ल्होछार तथा साँस्कृतिक महोत्सव भब्य रुपमा आयोजना गर्ने भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विविध साँस्कृतिक कार्यक्रमका साथ माघ २, ३ र ४ गते राजधानीको टुँडिखेलमा बृहत रुपमा सोनाम ल्होछार मनाउन लागिएको २८५४औँ सोनाम ल्होछार मूल आयोजक समितिका संयोजक वीरबहादुर योन्जनले जानकारी दिए । उक्त अवसरमा पूरानो चरा वर्स, ज्या ल्हो, लाई बिदा गर्दै नयाँ वर्ष ‘नगि’ कुकुर वर्ष लाई स्वागत गर्दै विविध कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।

माघ २ गते रक्तदान कार्यक्रम, ३ गते तामाङ सेलो ग्रुप नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम ल्होछर इभ र ४ गते साँस्कृतिक झाँकी सहितको र्याली शान्ति बाटिकाबाट बागबजार, प्रदर्शनी मार्ग, भद्रकाली, सहिद गेट हुँदै टुँडिखेलमा प्रवेश गरि २८५४औँ सोनाम ल्होछार साँस्कृतिक महोत्सव मनाईने तयारी भएको छ । महोत्सवको विधिवत रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्ने आयोजकले जनाएको छ ।

साथै पत्रकार सम्मेलनको प्रमुख अतिथी दक्षिण कोरियाको पूर्व महामहिम राजदुत कमानसिं लामाले तामाङ जातिको सोनाम ल्होछार सदिऔं देखि साँस्कृतिक पर्वको रुपमा मान्दै आएको र पछिल्लो समय तिथि र मिति बारेमा विवाद चर्केकोमा आपत्ति जनाएका छन् । उनले युगौदेखि माघ शुक्ल प्रतिपदा अर्थात माघ महिना मै मान्दै आएको सोनाम ल्होछार माघ मै ल्हो फेर्ने भएकोले यसपाली पनि माघ शुक्ल प्रतिपदा माघ ४ गते परेकोले कोहि पनि भ्रममा नपरी माघ ४ गते नै मनाउनको लागि सबैलाई आग्रह गरेका छन् ।

त्यसैगरी पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषको पूर्व सदस्य सचिव तथा सँस्कृतिविद अजित मान तामाङले सोनाम ल्होछार परापूर्व कालदेखि नै हाम्रो पुर्खाहरुले मान्दै आएको तामाङहरुको नयाँ वर्ष भएको बताए । माघ चन्द्र महिनाको पहिलो दिन तामाङ वर्षको तामाङ पहिलो महिना “ख्रेला” को प्रथम दिन अर्थात औँसीको भोलिपल्टको दिनको “प्रतिपदा तिथि छेपागी आरम्भ हुने दिन हो ।

यस्तै पत्रकार सम्मेलनमा नेपाल पचांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले माघ ४ मा पर्ने माघ शुक्ल प्रतिपदा फागुन ४ मा परेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । नेपाल तामाङ घेदुङले माघ ४ को माघ शुक्ल फागुन ४ मा सरेको भनी भ्रम फैलाउनु सरासर गलत भएको टिप्पणी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

त्यसैगरी नेपाल पचांग निर्णायक समितिका सदस्य प्राध्यापक डा. जगतमान गुरुङले तिब्बतको समय र नेपालको समय चक्र नै फरक रहेको र पुरानै विधिबाट ग्रह राशी मापन गरेकोले तिब्बतीहरुको पात्रो नमिलेको दाबी गरेका छन । खगोल र नक्षत्रको आधारमा ग्रहहरुको चालको मापन कहिल्यै फेल नखाने भन्दै नेपालको गणितीय प्रणाली अरुको भन्दा उत्कृष्ट रहेको दाबी गर्दै कुनै त्रुटि नरहेको र यसपाली माघ शुक्ल प्रतिपदा माघ ४ गते रहेकोले सोनाम ल्होछार माघ ४ मै परेको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा प्रोफेसर कर्म गोमछेन लामा, नेपाल संघीय समाजवादी नेपालका नेता तथा पूर्व सभासद् योगेन्द्र घिसिङ, ताम्सालिङ उत्थान नेपालको अध्यक्ष ज्ञानु लामा, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय उपाध्यक्ष निरज गोले, सिराह तामाङ समाजका अध्यक्ष हिरण्यलाल तामाङका साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट