एपिएफ क्लब क्वाटर फाईनलमा

प्रकाशित मिति: २३ पुष २०७४, आईतवार

राजेश थापा मगर
काठमाडौं, २३ पुस । विभागीय टीम एपिएफ क्लब धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ पराजित गर्दै एपिएफ क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको २१औँ मिनेटमा विनोद गुरुङले पाएका पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न नसक्दा सहाराले खेलमा अग्रता लिन चुकेको थियो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोेल रहित बराबरीमा रोकिएसँगै खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउँदै टिमको जित सुनिश्चित गरे । पेनाल्टी सुटआउटमा एपिएफका लागि गोलरक्षक राजु नगरकोटी, अञ्जन विष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए । त्यस्तै सहाराका सुसन गुरुङ, विजय श्रेष्ठ, मानबहादुर तामाङ र फुर्वा लामाको प्रहार गोलमा परिणत भएको थियो । खेलमा एपिएफका गोलरक्षक राजु नगरकोटी म्यानअफ द म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आईतबार हुने खेलमा ए डिभिजनको क्लब सिएमजी संकटाले धरान फुटबल क्लबको सामना गर्नेछ । पौष २१ गतेदेखि सुरु भएको घरेलु फुटबलको सर्वाधिक राशीको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले नगद ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र स्ट्राईकरले जनही नगद १५-१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भने एक थान मोटरसाईकल प्राप्त गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट