रिपोर्टर नेपाल समाचार
पटना, २२ पुस । बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटाला काण्डमा साढे ३ वर्षको जेल सजायका साथै ५ लाख भारतीय रुपैयाँ जरिवाना तोकिएको छ । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआई)को रांचीस्थित विशेष अदालते शनिबार लालूमाथि यस्तो फैसला सुनाएको हो ।
लालुले जरिवाना नदिएको थप ६ महिना जेल सजाय हुने छ । यादवमाथि सन् १९९० देखि १९९४ बीचमा देवघर कोषगारबाट पशुलाई उपलब्ध गराइने दानामा ८९ लाख २७ हजार भारतीय रुपैयाँ अवैध ढंगले निकालेको आरोप लागेको थियो । पूरा चारा घोटाला ९५० करोड रुपैयाँको रहेकोमा कूल ३८ जना उक्त घोटालाका आरोपी थिए ।
यी सबैजना विरुद्ध सिबीआईले २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो । सोही मामला २० वर्षपछि गत पुस ८ गते सिबीआई अदालतले लालूलाई दोषी ठहर गर्दै सोही दिन लालूलाई अदालत परिसरबाट पक्राउ गरी हिरासतमा लिएको थियो । लालूसहित चारा घोटाला काण्डमा दोषी पाइएका कसैलाई पनि जमानतमा रिहा हुने मौका मिल्ने छैन ।
यो पनि पढ्नुहोस् :
बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान
‘देवघर चारा घोटाला’ प्रकरणमा गरेका थिए करोडौंको हिनामिना