सिरहा र सप्तरीमा चिसोका कारण ९ जनाको मृत्यु

प्रकाशित मिति: २२ पुष २०७४, शनिबार

सप्तरी, २२ पुस । सिरहा र सप्तरीमा चिसोका कारण ९ जनाको मृत्यु भएको छ । एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा ६ र सिरहामा तीन जनाको मृत्यु भएको हो । चिसोका कारण गएराति धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो भने चिसोकै कारण गोलबजार नगरपालिका-२ का ७० वर्षीय रामप्रसाद महतो तथा वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको मृत्यु भएको छ ।

यस्तै चिसोका कारण सप्तरीमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादव, बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको मृत्यु भइसकेको छ भने यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।

जिल्ला शिक्षा कार्यालयले बढ्दै गएको शितलहरका कारण स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ भने कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ । अत्याधिक चिसो र शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या हुनुका साथै विद्यालय आउने विद्यार्थीको संख्या घट्दै गएको छ ।

चिसोका कारण जिल्ला शिक्षा कार्यालयले सप्तरीका सबै ४१२ वटा सामुदायिक विद्यालय बन्द गराएको छ । यस्तै एक सातादेखि बढ्दै गएको बाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ । स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ भने कतिपय स्थानीय तहले दलित बस्तीमा न्यानो कपडा समेत वितरण गरेका छन् ।

यो पनि पढ्नुहोस् :
उपत्यकासहित देशभर चिसो बढ्यो


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट