सरकारले राष्ट्रियसभाको निर्वाचन मिति तोक्दैछ : मन्त्री बस्नेत

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार

सिन्धुपाल्चोक, २१ पुस । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबिसे–ओमपार्क सडक आयोजनाको शुभारम्भ गर्दै लामो संघर्षपछि मुलुकले प्राप्त गरेको संविधानको अक्षरशः पालना गर्न सरकार लागिपरेको बताएका छन् । निर्वाचन आयोग र प्रमुख दलहरुको परामर्शमा सरकार राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको अवगत गराउँदै उनले त्यसपछिका कानूनी प्रावधान पूरा गरेर नयाँ सरकार गठन हुने जनाएका हुन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्ने काम गरिरहेको बताए । सडक आयोजनाको समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकामा जोड दिँदै उनले सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्न गई दिगो र सन्तुलित विकास हुने जनाए । उनले भने, ‘बाह्रबिसे–ओमपार्क सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ ।’ सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्न गई दिगो र सन्तुलित विकास हुने उनको भनाइ थियो ।

सडक विभागका अनुसार कूल १४.२ किलोमिटर लम्बाइको उक्त सडक ३३ करोड ३० लाख १८ हजार पाँचसय ३५ रुपैयाँको लागतमा उक्त सडक निर्माण हुँदैछ । वि.सं.२०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण सुरु गरेको उक्त आयोजना २०७७ असारमा सम्पन्न हुने संयुक्त लगानीकर्ता (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट