चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन १३ देखि

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार

काठमाडौं, २१ पुस । आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेड कम्पनी रहेको छ ।

सम्झौताअनुसार भलिबल खेलको लागि कम्पनीले रु ४० लाख दिने सहयोग गर्नेछ । भलिबल खेलमा कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा मुख्य प्रायोजक कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नै कम्पनीले उक्त क्लब च्याम्पियनसिपका लागि पहिलो किस्ताबमोजिम रु १० लाखको चेक संघलाई प्रदान गरेको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख तथा तेस्रोले रु ६० हजार पुरस्कार पाउने जानकारी दिए । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु १५ हजार पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिनेछ ।

यसका साथै प्रतियोगितामा महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत÷वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट