चितवनलाई नेपालको आर्थिक ‘हब’ बनाउने : अध्यक्ष दाहाल

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार

चितवन, २१ पुस । आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको भन्दै उनले देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको जनाएका छन् । चितवन क्षेत्र नं.३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष दाहालले राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्छ भन्दै अध्यक्ष प्रचण्डले अब हामीले विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुने र त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जाने बताए ।

उनले भने, ‘नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन भने त्यसको सबैभन्दा ठूलो दोषी तपाईं हामी सबै हुने स्थिति आउँछ ।’ उनले यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताए । त्रिदेशीय साझेदारीले हामी अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै उनले भने, ‘हामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ ।’ आउँदो दशक नेपालको समृद्धिको दशकका रुपमा संसारलाई चिनाउनु पर्ने भन्दै कार्यक्रममा उनले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने साथै नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट