सत्ता हस्तान्तरण गर्न कांग्रेस होइन कानून बाधक हो : कांग्रेस नेता खड्का

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

भक्तपुर, २० पुस । आज आयोजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.नारायण खड्काले नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएर कानुन बाधक भएको बताएका छन् । डा.खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएको स्पष्ट पारे ।

उनले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी कांग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गरे । कांग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताए ।

राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुनेहुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने खड्काको दाबी थियो । कार्यक्रममा उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण कांग्रेसले पराजय व्यहोर्नुपरेको बताएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट