गोदामघर निर्माणलाई चीन रेडक्रसको १३ करोड सहयोग

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

काठमाडौं, २० पुस । रेडक्रस सोसाइटी चीनले नेपाल रेडक्रस सोसाइटीलाई १३ करोड रुपैयाँ आर्थिकसहित अन्य सहयोग प्रदान गर्ने भएको छ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष वाङ हाइजिङले आज हस्ताक्षर गरेका छन् ।

रेडक्रस चीनले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा निर्माण हुँदै गरेको केन्द्रीय गोदामघरको लागि आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको हो । चीन रेडक्रसका उपाध्यक्ष हाइजिङ सहितको उच्च प्रतिनिधि तीनदिने नेपाल भ्रमणमा रहेका छन् । उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदाम घर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताएका छन् । सोसाइटीका महामन्त्री धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजनाअनुसार गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताए ।

आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जनाए । सोसाइटीका अध्यक्ष सञ्जीव थापाले वि.सं.२०७२ को भूकम्पपछि ठूलो क्षमताको गोदामघरको आवश्यकता खट्किएको चर्चा गर्दै गोदामघर निर्माणमा चीन रेडक्रसबाट प्राप्त सहयोगको लागि धन्यवाद दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट