कृषि बैंकको घोटालामा मुछिएका जर्नेल हिरासतमा

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

काठमाडौं, २० पुस । कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोप लागेका नेपाली सेनाका जर्नेल डा.रमेश बिष्टमाथि सैनिक अदालतमा मुद्दा चलेको छ । वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा कार्यरत नेपाली सेनाका सहायक रथी विष्टलाई सैनिक हिरासतमा लिएर अनुसन्धान थालिएको स्रोतले जनाएको छ ।

कृषि विकास बैंक काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट भएको करिब चार करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि बैंककी कर्मचारी दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको थियो । बिष्टलाई उपत्यका प्रितना नारायणहिटीमा राखेर बयान लिइएको छ भने अहिले उनीप्रति आरोप पुष्टि नभइसकेको अवस्था रहेको छ ।

बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले रेग्मीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी हुन् । घटनामा संलग्न काठमाडौं–३२ का प्रेमहरि ढुंगेल, टोखा–८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं–१६ का प्रकाश घतानी र काठमाडौं–३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट