मनसुनसम्म भूकम्पपीडितका ६० प्रतिशत घर बनिसक्छ : प्रमुख भुसाल

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

गुल्मी, १९ पुस । आगामी मनसुनसम्म भूकम्पपीडितका ६० प्रतिशत घर निर्माण भइसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताएका छन् । भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत अनुगमनका क्रममा प्राधिकरणको एक टोलीसहित एकसाता लामो जिल्ला भ्रमणमा निस्किएका प्राधिकरणका भुसालले गुल्मीमा लाभग्राही, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सञ्चार माध्यमसँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले कतिपय ठाउँमा प्राविधिकहरु समयमा जान ढिलो गरेका कारण पीडितले आफ्नै तरिकाले घर बनाइसकेको हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा पनि पुनर्निर्माण प्राधिकरणले केही पुनर्विचार गर्न लागेको बताए । प्राधिकरणले गति लिन नसकेको मूल समस्या भनेको प्राविधिक कर्मचारीहरु स्थानीय तहमा गएर भूकम्पपीडितलाई दोस्रो किस्ता निकाल्नका लागि सहजीकरण गर्न नसकेको उनको भनाई थियो । उक्त समस्या समाधानका लागि अहिले गाउँपालिका र नगरपालिकाअन्तर्गत कर्मचारी खटाइसकेको र प्राविधिकले गाउँगाउँमा पुगेर आफ्नो काम सुरु गरेको हुँदा अहिले पुनर्निर्माणले तीब्रता लिएको उनको दाबी थियो ।

गुल्मीमा लाभग्राही सूचीमा परेका भूकम्पपीडितको संख्या चार हजार एकसय ४४ रहेकामा हालसम्म तीन हजार पाँचसय ६८ जनाले पहिलो किस्ताबापतको रकम सम्झौता गरेर लगिसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंंकरप्रसाद गौतमले जनाएका छन् । जिल्लाको मदाने, धुर्कोट, तम्घास र पूर्तिघाटमा सम्पन्न अन्तक्र्रिया एवं छलफल कार्यक्रममा लाभग्राही एवं स्थानीय जनप्रतिनिधिले पुनर्निर्माण कार्य ढिलो भएको बताउँदै यसलाई तीब्रता दिनुपर्नेमा जोड दिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट