प्रतिनिधिसभा र राष्ट्रियसभामा क्रमशः निलो र रातो रङका कुर्सी प्रयोगमा ल्याइने

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

काठमाडौं, १९ पुस । अब प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र कुर्सी बेग्लाबेग्लै रङको प्रयोग गरिने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा.भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ ।

प्रवक्ता गौतमले भने, ‘हामीले अन्तर्राष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ प्रयोग भएको देख्छौँ । हामीले शान्तिको प्रतीक निलो र राष्ट्रिय झण्डामा प्रयोग भएको रातो रङ छनोट गरेका हौँ ।’ प्रवक्ता डा.गौतमका अनुसार प्रतिनिधिसभा तथा संयुक्त बैठक गर्नुपर्दाका लागि नयाँ बानेश्वरस्थित विगतमा संविधानसभा संचालनमा रहेको मूल सभाकक्ष र राष्ट्रियसभाको लागि सोही भवनको पूर्वतर्फको नुप्से हलको आवश्यक मर्मत सुधार भइरहेको छ ।

प्रतिनिधिसभाको हलमा तीनसय ३४ वटा कुर्सी रहनेछन् । त्यसका लागि तीन करोड ५० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । माइक र सिटलगायत पूर्वाधारको हिसाबले प्रतिनिधिसभा बैठक कक्ष पुस मसान्त र राष्ट्रियसभाको हल माघ १५ गतेसम्ममा तयार भइसक्ने डा.गौतमले बताए । प्रतिनिधिसभामा दुईसय ७५ र राष्ट्रियसभा ५९ सदस्य हुने संवैधानिक व्यवस्था रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट