बाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको हो : डा.कोइराला

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

मोरङ, १९ पुस । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताएका छन् । भेटघाटमा उनले बाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र कांग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले बाम गठबन्धन लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे कांग्रेसले सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने उनको धारणा थियो । संविधान आफैँमा पूर्ण नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले भने, ‘निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनु हुँदैन थियो ।’
युवाका लागि शीर्ष पदहरु छोड्नुपर्ने पत्रकारको जिज्ञासामा उनले युवा जत्तिकै जाँगर आफूमा रहेको, देशव्यापी दौडाहा व्यापकरुपमा गरिरहेको र कांग्रेसलाई युवाहरुको जोश तथा पाकाहरुको होस आवश्यक रहेको बताए । उनले नेपालको विदेश नीति दुबै छिमेकी मुलुकका साथै अन्य युरोपेली मुलुकसँग पनि समतुल्य सम्बन्धका साथ अगाडि बढ्नुपर्ने नत्र मुलुक अप्ठेरोमा पर्न सक्ने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट