खाजा खान रिसोर्ट छिरेका युवकको शंकास्पद मृत्यु

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

भक्तपुर, १९ पुस । साथीसँग रिसोर्टमा खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथीसँग खाजा खान गएका भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजुको मंगलबार साँझ शंकास्पद मृत्यु भएको हो ।

साथीहरुले अचेत अवस्थामा घर पुर्याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतककी पत्नी राधिका सैंजुका अनुसार मंगलबार साँझ ४ः३० बजे समीरलाई उनका दुईजना साथीले अचेत अवस्थामा मोटरसाइकलमा राखेर घर पुर्याएका थिए । त्यसपछि तत्कालै उपचारका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा लगिएको समीरलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए ।

जनस्वास्थ्यका चिकित्सकको निर्णय चित्त नबुझी मध्यपुर अस्पतालमा लगिएका समीरलाई त्यहाँका चिकित्सकले पनि मृत घोषणा गरेका थिए । समीरको मृत्युपछि प्रहरीले समीरका साथीमध्येका उमेश सैंजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट