आईओएफटीसीमा मैत्री टिम च्याम्पियन

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, १९ पुस । १२ औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालको मैत्री तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ ।

मंगलबार इटहरी रंगशालास्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा मैत्री डोजाङले ११ स्वर्ण, ८ रजत र ११ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै आर्मी १० स्वर्ण, ६ रजत र १२ कास्य पदक जित्दै दोश्रो तथा नेपाल एपिएफ क्लब ८ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै तेश्रो भयो ।

राष्ट्रिय खेलकुद परिषद् को विशेष सहयोगमा आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा सहभागी विदेशी टिममध्ये अमेरिका टिम प्रथम भयो । अमेरिकाले ४ स्वर्ण, ३ रजत र १ कास्य प्राप्त ग¥यो । त्यस्तै ४ स्वर्ण, २ रजत र ३ कास्यका साथ बंगलादेश दोश्रो तथा १ स्वर्ण र ३ रजतसाथ बेलायत तेश्रो भयो ।

प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा भारतका अभिषेक यादव तथा महिलामा नेपालकी दक्षिणा ठकुरी उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे । पुम्सेको पुरुषमा भारतका बेदाशिष दास तथा महिलामा नेपालकी सीनामादेन उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट दुवैलाई समान २५–२५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रशिक्षकतर्फ पुरुषमा भारतका सौरभकुमार सिंह तथा महिलामा नेपालकी विकेश विडारी उत्कृष्ट घोषित हुँदै २५–२५ हजारका नगद पुरस्कार हात पारे । उत्कृष्ट टिम घोषित भएको नेप्लिज तेक्वान्दो एकेडेमीले (एनटीए) ५ स्वर्ण, १५ रजत र २० कास्य पदक जित्न सफल भयो ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा १२ राष्ट्रका ७ सय २१ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट