नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

कञ्चनपुर, १८ पुस । आजदेखि कञ्चनपुरमा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले सीमा सर्वेक्षण गर्न थालेका छन् । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर सातसय ५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो ।

संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नं.८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्वेक्षणको कार्य अगाडि बढाएको हो ।

नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा नेपाली टोलीमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्टसहित सातजना रहेका छन् । नेपाली टोलीसँगै भारतबाट पनि सर्वे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वको टोली खटिएको छ । टोलीले सीमास्तम्भको हालको अवस्था, मर्मत गर्नुपर्ने र हराएका सीमास्तम्भको विवरण संकलन गर्ने साथै सीमास्तम्भको मर्मत सम्भार र हराएका ठाउँमा दुबै देशको सहमतिमा नयाँ सीमास्तम्भ राखिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट