ओली र सिटौलाले बुझाए निर्वाचन खर्च विवरण

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

झापा, १८ पुस । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । शीर्ष नेतातर्फ झापा क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं.५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं.१ बाट माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट कांग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी एकसय ४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएका हुन् । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।

एमाले अध्यक्ष ओलीले २४ लाख एक हजार एकसय ६०, कांग्रेस नेता सिटौलाले २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले २४ लाख १० हजार र कांग्रेस नेता शर्माले २१ लाख ६८ हजार रुपैयाँको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका डा.खगेन्द्र अधिकारीले २४ लाख ७५ हजार, क्षेत्र नं.४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले २३ लाख ६३ हजार, क्षेत्र नं.३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले छ लाख ५० हजार, क्षेत्र नं.४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले तीन लाख पाँच हजार, क्षेत्र नं.३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले ६३ हजार, क्षेत्र नं.२ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले एक लाख नौ हजार दुईसय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट