एक महिनासम्म चल्ने स्वस्थानी व्रत आजबाट सुरु (तस्बिरसहित)

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

काठमाडौं, १७ पुस । आजबाट एक महिनासम्म चल्ने स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरी स्वस्थानी व्रत आरम्भ गरिन्छ ।

 

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । हिमालय पर्वतकी पुत्री पार्वतीले सत्ययुगमा महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रतको सुरुवात गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ । आजैदेखि एक महिनासम्म काठमाडौं उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लागेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट