एपिएफ र आर्मीलाई राखेप च्याम्पियनसिप भलिबलको उपाधि

प्रकाशित मिति: १६ पुष २०७४, आईतवार

राजेश थापा मगर
काठमाडौं, १६ पुस । राखेप च्याम्पियनसिपअन्तर्गत २१औँ महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । शनिबार पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा भएको फाईनल खेलमा विभागिय टिम एपिएफले मध्यामाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

एपिएफले मध्यमाञ्चललाई पहिलो सेट २५–१८, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१०को स्कोरमा पराजित गरेको हो । त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले घरेलु टिम पश्चिमाञ्चललाई २५–१५, २५–२१ र २५–२१ को स्कोरमा पराजित गर्यो ।

प्रतियोगिताअन्तर्गत नै भएको ३१औँ राष्ट्रिय पुरुष भलिबलको उपाधि भने नेपाल आर्मीले जितेको छ । विभागिय टिमबीच भएको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाल आर्मीले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को स्कोरमा पराजित गरेको हो । तेश्रो स्थानको लागि भएको खेलमा भने पश्चिमाञ्चलले प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को सेटमा पराजित गर्न सफल भयो ।

प्रतियोगितामा महिलातर्फको उत्कृष्ट खेलाडी भएकी एपिएफकी सरस्वती चौधरी तथा पुरुषतर्फ उत्कृष्ट भएका आर्मीका मानबहादुर श्रेष्ठले जनही १५-१५ हजार नगदप्राप्त गरे ।

प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेश्रोले २० हजार प्राप्त गरे । विजेता खेलाडीलाई युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा लगायतले पुरस्कृत गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट