चार दलले गरे पार्टी एकीकरण

प्रकाशित मिति: १६ पुष २०७४, आईतवार

काठमाडौं, १६ पुस । शनिबार राजधानीमा आयोजित सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सव कार्यक्रममा चार दलका अध्यक्षहरुले पार्टी एकीकरण भएको घोषणा गरे । पहिचानलाई मुख्य मुद्दा बनाएर अघि बढिरहेका पार्टीहरु सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको हो ।

कार्यक्रममा एकीकरणको घोषणा गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले ०७, ०४६ र ०६२/६३ सालको जनआन्दालनले संसद पुनस्र्थापना गरे पनि त्यसपछि बनेको अन्तरिम संविधानमा संघीयता छुटेकाले मधेस, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, दलित, सिल्पी, खस, भाषिक पहिचानमा आधारित राष्ट्रिय र क्षेत्रीय पार्टीहरुका आन्दोलन र संघर्षहरुका दबाबमा संघीयता पारित गरिएको बताए । उनले अन्तरिम संविधान ३० चैत ०७३ मा प्रथम संशोधन भएको र त्यसैमा टेकेर मुलुकमा संविधानसभाको गठन भएको जनाए । तर, सो संविधानसभामा पहिचानको मुद्दा हाबी भएको संकेत मिल्ने बित्तिकै षड्यन्त्रपूर्वक प्रथम संविधानसभा विघटन गरिएको उनले आरोप लगाए । जसले गर्दा पहिचानवादीको आन्दोलन र संघर्ष लम्बिएर जान बाध्य पारिएपछि १५ पुस ०६९ मा सामाजिक लोकतान्त्रिक पार्टी स्थापना भएको अध्यक्ष राईले बताए ।

त्यस्तै, ०६३ मा स्थापना भएको खम्बुवान राष्ट्रिय मोर्चा पुनर्गठन गरिएको र यसै सेराफेरोमा किरात खम्बुवान लोकतान्त्रिक पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी स्थापना भएको साथै नवजनवादी मोर्चा गरी चार दल एक स्थानमा उभिनुलाई खुसीको कुरा भएको अध्यक्ष राईले बताए । उनले चारै दलहरुको स्थापनाको मुख्य उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्र लोककल्याणकारी राज्यको स्थापना भएको बताए ।

वि.सं.१९१० सालको मुलुकी ऐनले वैधानिक र संस्थागत रुपमा जन्माएको विभेद, वहिष्करण, उत्पीडनको सही सम्बोधन नभएकाले मानवअधिकार, मौलिक अधिकार साथै अन्तर्राष्ट्रिय कानुनहरुले प्रत्याभूत गरेका वैयक्तिक वा सामूहिक रुपमा प्रचलनमा नआएकाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएको स्वीकारिए पनि धर्मनिरपेक्षता अस्विकार गरिएकाले सम्बोधन र संविधान संशोधनको मुद्दालाई कायम राखिदैं आइएको उनले जनाए । त्यस्तै, अर्कोतर्फ बाम र लोकतान्त्रिक ध्रुवीकरणले संविधान संशोधनको मुद्दालाई कायम राख्दै आएको साथै बाम र लोकतान्त्रिक ध्रुवीकरणले प्राप्त हक अधिकारहरु समाप्त गर्ने लक्षण देखाएकाले, तिनका रक्षाका लागि मानव इज्जत, स्वतन्त्रता, स्वाधीनता, समानता प्राप्तिका लागि अदम्य साहस, उच्च मनोबल र स्वभाविमानका साथ चार दल एक ढिक्का भई अगाडि बढ्ने अध्यक्ष राईले घोषणा गरे ।

एकीकरण कार्यक्रममा नवजनवादी मोर्चाका अध्यक्ष तथा सामाजिक लोकतान्त्रिक पार्टीका सदस्य मैयाकुमारी राईले विभिन्न धारमध्ये सामाजिक लोकतान्त्रिक पार्टी संसारमै चौँथो धार भएको बताएकी छिन् । उनले पितृसतात्मक मुलुकमा महिलालाई स्थान नदिइएको भन्दै नारीलाई सन्तान उत्पादन गर्ने यन्त्र मात्र भएको सोचाइले समाज अघि बढ्न नसकेको बताइन् । कार्यक्रममा किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष तथा सामाजिक लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ज्ञानेश्वर राईले ठूला दलहरुले दलीय सिन्डिकेट लगाएर साना दलहरुलाई माथि उठ्न नदिने अधिनायकवादी सोचाइ राखेको बताएका छन् । उनले ठूला दलले निषेधको राजनीति गर्न खोजेको भन्दै सिन्डिकेट लगाउने नेताहरुले संविधान कार्यान्वयनको कुरा गरे पनि यसको कार्यान्वयन तहलाई आफूहरुले पनि अध्ययन गरिरहेको बताए । साना दलहरुलाई माथि उठ्न नदिन अनेकौ बाधा, अड्चन खडा गरेर आफू मात्र सत्तामा पुग्ने र आफू अनुकूल शासन चलाउने रोगबाट ठूला दल ग्रसित भएकोले मुलुकलाई झन् बर्बादितिर लैजाने उनले बताए ।त्यस्तै, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राईले पनि पहिचानको मुद्दा बोक्ने दलहरुलाई जातीय मुद्दाको ट्याग लगाएर राज्यले दमनको नीति अख्तियार गरेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सल्लाहकार सदस्य हिमालधन राई, बहुलवादका जानकार नन्दन कन्दङ्वा, लाहुर्निपका तर्फबाट अधिवक्ता दिनेश घले, समाजशास्त्री तथा द्वन्द्व विशेषज्ञ पहलसिंह तामाङले पनि आ–आफ्ना विचार राखेका थिए । तिलकबहादुर मगरद्वारा संचालित कार्यक्रममा पार्टीलाई सहयोग गर्ने विभिन्न व्यक्ति, व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट