जीर्ण धार्मिकस्थलको संरक्षण पहिलो प्राथमिकतामा रहने छ : गगन थापा

प्रकाशित मिति: १६ पुष २०७४, आईतवार

काठमाडौं, १६ पुस । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपती क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज त्यस क्षेत्रको घरदैलो कार्यक्रमपछि आयोजना गरिएको कोणसभामा उनले जयबागेश्वरीदेखि कुटुबहालसम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले ऐतिहासिक महत्व बोकेको चारुमती बुद्ध विहारमा आज आयोजित पूजामा दीप प्रज्वलन गर्दै उक्त विहारको संरक्षण गरी त्यहाँको प्राचीनताका बारे प्रचारप्रसारमा आफूले भूमिका निर्वाह गर्ने विश्वास दिलाए । सोही क्षेत्र प्रदेशसभा (क)बाट नवनिर्वाचित सांसद नरोत्तम वैद्यले भित्री सडक विस्तारका क्रममा भइरहेको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा समस्या भइरहेको बताउँदै अब स्थानीय तहले पूर्वाधार विकास तथा ढल व्यवस्थापनमा माथिल्लो निकायसँग समन्वय गरी छिटोछरितो काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तरुण दलकी नेत्री राधा घलेले स्थानीय धार्मिकस्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् भने विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विहारले गरेका विभिन्न सामाजिक तथा धार्मिक गतिविधिका बारे जानकारी गराए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट