आमचोकमा चिया खेतीका लागि ७५ लाख विनियोजन

प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार

भोजपुर, १४ पुस । स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती विस्तारका लागि ७५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि उक्त रकम विनियोजन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष अशोक राईका अनुसार चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी सो रकम विनियोजन गरिएको छ । रकम सोही गाउँपालिकाको मातहतमा रहनेछ । चिया खेतीका लागि प्रशस्त सम्भाव्यता बोकेको जिल्ला भोजपुरमा हाल स्थानीय किसानले फाट्फुट रुपमा चियाखेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा चिया विस्तार नभइरहेको जनाइएको छ ।

गाउँपालिकाको निःशर्त र सशर्त गरी कूल २६ करोड ६३ लाख रकममध्ये ७५ लाख रुपैयाँ चिया खेतीका लागि विनियोजन हुनु अहिले स्थानीयवासीका लागि खुशीको कुरा भएको छ । यसअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको आमचोक गाउँपालिकाको समेत नमूना माटो परीक्षण गर्दा चिया खेतीका लागि उपयुक्त ठाउँ मानेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट