बिप्लव समूहका दुई नेता सुबेदी र मगर जेल चलान

प्रकाशित मिति: १२ पुष २०७४, बुधबार

उदयपुर, १२ पुस । प्रहरीले मंगलबार नेत्रबिक्रम चन्द(बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो ।

उदयपुरको प्रहरीका अनुसार अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको हो । सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समय अगाडि निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ ।

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उनका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरीले बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट