गृहसचिवले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनबारे छानबिन गर्न दिए निर्देशन

प्रकाशित मिति: १२ पुष २०७४, बुधबार

काठमाडौं, १२ पुस । गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारकाक्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा मृत्यु भएका नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

भुसालको गत मंसिर २३ गते ललितपुरको मेडिसिटीमा अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो । भुसालका परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई बुधबार सिंहदरबारमा लिखित ध्यानाकर्षण गराएका थिए ।

भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्नेसमेत हालसम्म किटान नभएकाले दुर्घटनालाई शंकास्पद भएको भन्दै छानबिन गर्न समूहका अध्यक्ष दीपक दाहालसहितको प्रतिनिधिमन्डलले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

भुसाल शिक्षा पत्रकार समूहका केन्द्रीय सदस्य र नवलपुर एफएमका प्रबन्ध निर्देशक थिए । ध्यानाकर्षणपछि सचिव सापकोटाले नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीलाई तत्काल आवश्यक छानबिन गराउन निर्देशन दिएका हुन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट