सार्वजनिक सूचनामार्फत बैंकले सांसदलाई ऋण तिर्न आग्रह गर्यो

प्रकाशित मिति: १२ पुष २०७४, बुधबार

रुकुम, १२ पुस । कृषि विकास बैंकले ऋण चुक्ताको लागि एक सांसदलाई मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं.१(क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो ।

कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्थामार्फत साबुन उद्योग संचालन गर्ने भन्दै चार लाख रुपैयाँ ऋण लिएको बताइएको छ । संस्थाको तत्कालीन अध्यक्ष हुँदा २०६८ सालमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत लिएको रकमको अहिलेसम्म ब्याज र साँवा कति पनि नतिरेको बैंकको भनाइ छ । उक्त संस्थाले मासिकरुपमा नौ प्रतिशत ब्याज तिर्ने शर्तमा युवा स्वरोजगारअन्तर्गतको रकम लिएको थियो । रातो कामी प्रदेशसभा सदस्यसमेत भइसक्दा उनले नेतृत्व गरेको संस्थाले लिएको साँवा र ब्याज तिर्न नसकेको बैंकका सूचना अधिकारी जोखबहादुर खड्काले जानकारी दिए ।

बैंकले बेलाबेलामा पत्र तथा जानकारी गराएपनि सो संस्थाले साँवा र ब्याज तिर्न नआएको जनाइएको छ । मौराखारा कृषक सहकारी संस्थाले हाल कृषि विकास बैंकमा चारलाख साँवा र तीन लाख ८० हजार तीनसय १३ ब्याज गरेर जम्मा सात लाख आठ हजार तीनसय १३ रुपैयाँ तिर्न बाँकी छ । ऋण लिएदेखि उक्त सहकारी संस्थाले कुनै किस्तामा ब्याज तथा साँवा बैंकमा दिएको छैन साथै ऋण लिएदेखि सो संस्था समेत संचालनमा नरहेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट