भूकम्पपीडितको पाँच करोडको राहत सामाग्री कुहियो

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार

नुवाकोट, ११ पुस । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याइएको करिब पाँच करोड रुपैयाँ मूल्य बराबरको राहत सामग्री कुहिएको छ । पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबारदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले व्यवस्थापन गर्न सुरु गरेको छ ।

तत्कालीन समयमा प्रशासक र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो । भूकम्पलगत्तै प्राप्त भएको पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समयसम्म परीक्षण नहुँदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ । बन्दोबस्तीका सामग्रीसमेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेकाले हाल छनोट गर्न सुरु गरिएको छ ।

लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् । भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधिलगायत रहेका छन् । राहत सामग्री छनोटको काम पूरा हुन एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जनाएका छन् । भण्डारण गरिएको राहत वि.सं.२०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट