नेपालद्वारा प्रधानमन्त्रीले राष्ट्रियसभा गठनको बखेडा निकालेको आरोप

प्रकाशित मिति: १० पुष २०७४, सोमबार

काठमाडौं, १० पुस । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाएका छन् । संयुक्त बाम गठबन्धन काठमाडौं क्षेत्र नं.२ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा नेपालले सो कुरा भनेका हुन् ।

संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै नेपालले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिए । दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने चर्चा गर्दै नेता नेपालले एउटै कम्युनिष्ट केन्द्रले मुलुकको विकास गर्ने भएकाले दुबै पार्टीका कार्यकर्तालाई बहकाउ र भ्रममा नपर्न आग्रह गरे ।

त्यस्तै, नेता नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसँग आग्रह समेत गरेका छन् । प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले ढिलो गर्न नहुनेमा जोड दिंदै उनले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्ने जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट