अप्पर नौगाडले चैतदेखि विद्युत् उत्पादन थाल्ने

प्रकाशित मिति: ९ पुष २०७४, आईतवार

काठमाडौं, ९ पुस । दार्चुला जिल्लामा आयोजनास्थल रहेको अपी पावर कम्पनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आगामी चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेका अनुसार मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न हुन लागेको हो ।

सोही जिल्लामा आयोजनास्थल रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरिसकेको अवस्थामा अप्पर नौगाडको समेत विद्युत् थप भएपछि सुदूर र मध्यपश्चिममा विद्युत् आपूर्तिमा सहज हुनेछ । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना सम्पन्न गरी संचालनमा ल्याइसकेको छ ।

कम्पनीले कूल १८ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन प्रणालीसमेत जडान गर्ने तयारी गरेको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको निर्माणको तयारी थालेको छ । कम्पनीले आव २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई आठ प्रतिशत बोनस शेयर दिने समेत तयारी गरेको छ । कम्पनीले एक अर्ब पाँच करोड कूल चुक्ता पूँजीको आठ प्रतिशत बोनस दिन लागेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट