बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान

'देवघर चारा घोटाला’ प्रकरणमा गरेका थिए करोडौंको हिनामिना

प्रकाशित मिति: ८ पुष २०७४, शनिबार

पटना । भारतको सीबीआइ अदालतले शनिबार बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई ‘देवघर चारा घोटाला’ प्रकरणमा दोषी ठहर गर्दै जेल चलान गरेको छ । नेता यादवलाई अदालतले बहुचर्चित देवघर चारा घोटालामा दोषी प्रमाणित गरे पनि सजायको फैसला भने आगामी जनवरी ३ मा हुने बताइएको छ ।

यादवमाथि सन् १९९० देखि १९९४ बीचमा देवघर कोषगारबाट पशुलाई उपलब्ध गराइने दानामा ८९ लाख २७ हजार भारतीय रुपैयाँ अवैध ढंगले निकालेको आरोप लागेको थियो । सीबीआइले उक्त घोटालामा करिब ९ अर्ब ५० करोड भारतीय रुपैयाँ हिनामिना भएको उल्लेख गरेको छ ।

लालुसहित ३८ जनाविरुद्ध विशेष अदालतमा सीबीआइले सन् १९९७ अक्टोबर २७ मा मुद्दा दर्ता गरेको थियो । सीबीआइको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई दोषी ठहर गरेपछि बिहार प्रहरीले उनलाई पक्राउ गरी होटवार जेल चलान गरेको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार अदालतले यादवसहित अन्य १५ जनालाई देवघर चारा घोटालामा दोषी ठहर गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट