कृषि बैंकको करिब पाँचकरोड घोटालामा बैंककै अवकाशप्राप्त रेग्मी पक्राउ

प्रकाशित मिति: ६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस । बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले कृषि विकास बैंकमा भएको करिब पाँच करोड अनियमितता प्रकरणमा बैंककै अवकाशप्राप्त अधिकृत सलिल रेग्मीलाई पक्राउ गरेको छ । सिआईबीका एसपी जीवक कुमार श्रेष्ठका अनुसार बैंकको घोटालामा सलिलको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।

सिआईबीका अनुसार अनियमिततामा घोटालाका प्रमुख योजनाकार दिपिका रेग्मीलाई सलिलले बैंकको इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखामा काम गर्दा सहयोग गरेका थिए । कृषि विकास बैंकको न्यूरोड शाखाबाट चार करोड ९१ लाख रुपैयाँ घोटाला भएको घटनाको सिआईबीले अनुसन्धान गरिरहेको छ ।

दिपिकासहित प्रहरीले न्यूरोड शाखाका निमित्त शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इसिसी विभागका प्रमुख गोपाल गिरी, कर्जा शाखाका प्रमुख विनिता मरहठ्ठा तथा पियन रमेश थापालाई सिआईबीले यसअघि नै पक्राउ गरिसकेको छ भने सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

अन्तरशाखा कारोबार हिसाब ‘क्लियरीङ’ को रकम पेन्डिङमा राखेको देखाई उक्त रकम दिपिकाले आफूले राख्ने गरेकी थिइन् । करिब एक वर्षअघिदेखि उनले पटक पटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ । घोटालाको रकम उनले केही आफन्तहरुको खातामा समेत राखेको पाइएको छ । ठगी गरेको मध्ये करिब ३२ लाख रकम नेपाली सेनाका सहायक रथी डा.रमेश बिष्टको खातामा भेटिएको छ । डा.बिष्टमाथि सेनाले आन्तरीक छानबिन गरिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट