विद्युतीय सवारीसाधन चार्ज गर्न चार्जिङ स्टेसन बनाइयो

प्रकाशित मिति: ५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । काठमाडौंमा विद्युतीय सवारीसाधन चार्ज गर्नको लागि चार्जिङ स्टेसन बनाइएको छ । वर्षाकालमा विद्युत् उत्पादन बढी हुने र विद्युत् खेरसमेत जाने अवस्था आएका कारण साथै नागरिकलाई विद्युतीय सवारी साधनको प्रयोगमा चेतना जगाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले रत्नपार्कमा प्रवद्र्धनात्मक रुपमा चार्जिङ स्टेसन खडा गरेको हो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि नागरिकले सहज रुपमा विद्युत् पाउने र खेर समेत जाने भएकाले हाल प्रवद्र्धनात्मक रुपमा नै विद्युतीय सवारीका लागि मार्ग प्रशस्त गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जनाएका छन् । विदेशतिर विद्युतीय सवारीसाधन उत्पादन गर्ने, प्रयोग गर्ने र त्यसैलाई नै विशेष प्राथमिकता दिने साथै विश्वविख्यात कम्पनीहरुले विद्युतीय सवारीसाधन उत्पादनमा समेत विशेष प्राथमिकता दिने गरेको बताउदै प्रवक्ता अधिकारीले नीतिगत रुपमा नै सरकारले नेपालमा पनि विद्युतीय सवारीका लागि प्रवद्र्धन गर्न लागेको जनाएका छन् ।

नेपालमा पनि आगामी दिनमा पेट्रोलियम पदार्थको आयात घटाएर विद्युतीय सवारी साधानलाई प्राथमिकता दिन प्राधिकरणले प्रभावकारी रुपमा नै अभियान सञ्चालन गर्न लागेको हो । काठमाडौंका एक दर्जन बढी स्थानमा व्यावसायिक रुपमा नै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्ने प्राधिकरणको तयारी छ । वार्षिक रुपमा ४२ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । त्यसलाई पनि नियन्त्रण गर्न र स्वदेशको पैसा स्वदेशमा नै राख्न विद्युतीय सवारीलाई प्राथमिकता दिन लागिएको प्राधिकरणको भनाइ छ । सरकारले काठमाडौं भक्तपुर रुटमा चलाएको ट्रली बस बन्द गरेर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थले चल्ने सवारी साधन चलाउन प्रेरित गरेपछि नेपालको परनिर्भरता समेत बढ्दै गएको हो ।

हाल जडान गरिएको स्टेशन प्रवद्र्धनात्मक भए पनि त्यसबाट विद्युतीय सवारी साधान हुनेले फाइदा लिनसक्ने प्राधिकरणको विश्वास छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थ आयात घटाउन प्रवद्र्धनात्मक रुपमा नै भएपनि चार्जिङ स्टेसन खडा गर्ने कार्ययोजना अगाडि सारेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट