शीतलहरले कलैयाको जनजीवन चार दिनदेखि प्रभावित

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

बारा, ४ पुस । यतिबेला शीतलहरले जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सु सँगसँगै चिसो बढेकाले जिल्लाको सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि प्रभावित भई चहलपहलमा कमी आएको छ ।

बाक्लो हुस्सुले गर्दा सिमरा विमानस्थलमा पुस १ र २ गते विमान अवतरण हुन नसकेको बताइएको छ । कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको उपस्थिति कमी हुनाका साथै विद्यालयमा छात्रछात्राको उपस्थितिमा पनि कमी आएको छ । निरन्तर चिसोका कारण कलैया अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियामा बिरामीको संख्या बढेको कुरा पनि अस्पतालबाट थाहा भएको छ ।

शीतलहरले गर्दा बालबालिका, वृद्धवृद्धालाई समेत ठूलो समस्या परेको र जोगाउन कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सोमबार कलैयास्थित अमृता अनाथाश्रमका बालबालिकालाई न्यानो कपडासमेत वितरण गरेका थिए । त्यस्तै, जिल्ला प्रशासन कार्यालय, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाराले शीतलहर प्रभाव कम गर्न र यसबाट बच्न जिल्लावासीमा सूचना प्रवाह गरी अनुरोधसमेत गरेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट