दिवंगत पितृको सम्झनामा उत्तरगयामा श्राद्ध सम्पन्न

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार

नुवाकोट, ४ पुस । आफ्ना दिवंगत पितृको सम्झनामा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा पौषे औँशीका अवसरमा मानिसहरूले श्राद्ध सम्पन्न गरेका छन् ।

काठमाडौं, ललितपुर, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुर, रुपन्देहीलगायत विभिन्न भागबाट श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने जनविश्वास रहीआएको छ ।

पौष कृष्ण औँशीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरूले यहाँ सके वर्षेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाका रुपमा उत्तरगयामा पिण्डदान गर्ने चलन छ ।

देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा डाहले छट्पटिएका शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र अझै माथि नीलाद्रि पर्वतमा त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँशीका दिन सबै देवता र पितृको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट