आफन्त र पार्टीका मान्छे ओसार्न व्यस्त भक्तपुरका एम्बुलेन्स

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

भक्तपुर, ३ पुस । बिरामी बोक्न प्रयोग हुने भक्तपुरका एम्बुलेन्स यतिबेला बिरामी बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा जाने मान्छे ओसार्ने र विभिन्न सामग्री बोक्न थालेको छ । पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालका कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान थालेपछि यसको चौतर्फी विरोध भएकाले यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागिपरेको छ ।

संघको चौंथो वार्षिक साधारणसभामा एम्बुलेन्सको सो दुरुपयोग रोक्न आग्रह गरिएको छ । दुरुपयोग रोक्न एम्बुलेन्स चलाउने सम्बन्धित संस्थालाई पत्राचार गरेको एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्घकृष्णबाग श्रेष्ठले बताए । केही संस्थाले एम्बुलेन्सको दुरुपयोग रोक्न अझै पनि ध्यान नदिएको बताउँदै उनले त्यसमा संस्था र चालकको संलग्नता एवं चालकको लापरवाही रहेको पाइएपछि संघले सचेत गराउने बताए । अध्यक्ष बुद्घकृष्णले अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघ संस्थाका प्रमुख र चिकित्सक एम्बुलेन्सको महत्वलाई नबुझे झैं गरी बिरामीको लागि प्रयोग हुने एम्बुलेन्समा आफैं आवतजावत गरेको पाइन्छ, यसो नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाउछन् ।

संघका सचिव सीताराम खिउँजुले एम्बुलेन्सको उपयोग सम्बन्धमा चालक जानकार हुनुपर्ने बताउँदै एम्बुलेन्स दुरुपयोगलाई रोक्न सचेत गराएको बताए । समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्नेतर्फ आफू सचेत रहेको बताउँदै उनले एम्बुलेन्सको गलत प्रयोग कम गर्नतर्फ संघले पहल गरिरहेको उल्लेख गरे । आगामी दिनमा चालकलाई क्षमता अभिवृद्घिका लागि तालीम संचालन गर्ने बताउँदै सचिव खिउँजुले आकस्मिक सेवाका दमकल, शव बाहन, ट्राफिक प्रहरी समेतको समन्वयमा सेवालाई प्रभावकारी, सहज र सरल बनाइने बताए । भक्तपुर जिल्लाका करिब ४० प्रतिशत बिरामी उपचारका लागि काठमाडौं र १५ प्रतिशत बिरामी काभ्रे जाने गर्छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट