मनाङका विद्यालयहरु विद्यार्थीविहिन

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

मनाङ, ३ पुस । यतिबेला हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालयहरु विद्यार्थीविहीन बनेका छन् । स्थानीय बालबालिकालाई काठमाडौं, पोखरालगायतका शहरमा लिएर जाने बढ्दो प्रचलनले गर्दा ती स्कुलहरु विद्यार्थीविहिन भएका हुन् ।

अहिले गाउँघरमा काम गर्ने मजदुरका बालबालिका मात्र रहेन र उनीहरुबाट मात्रै विद्यालय धान्न मुस्किल भएको तिलिचो आधारभूतका प्रधानाध्यापक यमप्रसाद तिमल्सिना बताउछन् । गत शैक्षिक सत्रसम्ममा २६ जना विद्यार्थी रहेको यस विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा चारजना विद्यार्थी रहेका छन् । भएका विद्यार्थी पनि स्थानीय नभएका र कामको खोजीमा आमा बाबु अन्यत्र जाने भएका कारण आगामी शैक्षिकसत्रमा विद्यार्थीको उपस्थिति शून्य हुने जनाइन्छ ।

त्यस्तै, टंकी आधारभूत त अहिल्यै विद्यार्थीविहीन भएको छ । छजनाको दरबन्दी रहेको यो विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य छ । यस्तो समस्या किन भयो भन्ने प्रश्नमा स्थानीय बासिन्दाका बच्चा गाउँमा नराख्ने र सबै गोर्खाली, धादिङ्गे कामदारका बच्चा विद्यालय भर्ना हुन आउने तर अभिभावकसँग उनीहरु कामको सिलसिलामा ठाउँठाउँमा बसाइँ सर्ने भएका कारण यस्तो समस्या आएको टंकी आधारभूतका प्रअ लोकबहादुर सुवेदी जनाउछन् । थोरै जनसंख्या हुनु र त्यसमाथि भएका मानिसले पनि आफ्ना बालबालिकालाई गाउँमै नराख्नाले यस्तो समस्या आएको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताउछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट