प्रभु लाइफ इन्स्योरेन्सको कारोबार आजबाट सुरु

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २८ मंसिर । आजदेखि प्रभु लाइफ इन्स्योरेन्सले कारोबार सुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको उक्त कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले गरेका हुन् ।

बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने लक्ष्य लिएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् भने इन्स्योरेन्सको दुई अर्ब चुक्ता पूँजी रहेको छ । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने निर्णय गरेको छ ।

शुभारम्भ कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले सम्भाव्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताएका छन् । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरेका छन् । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताएका छन् । जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं, भन्दै भट्टचनले प्रभु जीवन बीमा कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट