सुनसरी ३ मा कांग्रेसका गच्छदार झिनो मतान्तरले विजयी

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरले विजयी भएका छन् । गच्छदारले तीनसय २१ मतको अन्तरमा जित हासिल गरेका हुन् ।

गच्छदार ३८ हजार नौसय ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार छसय ५१ मत प्राप्त गरेकी छन् । चौधरीले यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणनानै बहिस्कार गरेकी थिइन् ।

बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं जित हो । उनले २०४८ देखि कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ भने समानुपातिकतर्फ भने केहि मतगणना बाँकी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट